नयाँ कुमारीको आसन ग्रहण आज, पूजाआजा सहित कुमारीघरमा भव्य कार्यक्रम हुने

User Image Prime TV News ११ महिना अगाडि
Image of नयाँ कुमारीको आसन ग्रहण आज, पूजाआजा सहित कुमारीघरमा भव्य कार्यक्रम हुने

काठमाडौ । काठमाडौंको ऐतिहासिक तथा धार्मिक परम्परा अनुसार नव-घोषित कुमारी आर्यतारा शाक्यले आज मध्याह्न विशेष साइतमा विधिपूर्वक कुमारीको आसन ग्रहण गराइदै छ।

इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारालाई दिउँसो १२:०५ देखि १२:१६ बजेसम्मको शुभ साइतमा जीवित देवीको रूपमा कुमारीघरमा प्रतिष्ठापन गरिने भएको हो ।

कुमारीघर व्यवस्थापन समितिका अनुसार नवकुमारीको आसन ग्रहण कार्यक्रम बाजागाजासहित पूजाआजा र वैदिक विधिअनुसार सम्पन्न गरिने बताइएको छ ।

कार्यक्रममा पूर्व कुमारी तृष्णा शाक्यलाई सम्मानपूर्वक बिदाइ गरिने छ । नयाँ कुमारीलाई कुमारीघरमा प्रतिष्ठित गरेपछि तलेजु भवानीको दर्शन गराउने परम्परा अनुसार मन्दिर यात्रा गराइने छ ।

हिन्दू र बौद्ध परम्पराको संगम मानिने कुमारी प्रथा अन्तर्गत जीवित देवीका रूपमा पूजिने कुमारीलाई महालक्ष्मीको प्रतीकका रूपमा मानिन्छ ।