नागरिक हटाइँदैनन्, आवासको हक सुनिश्चित हुन्छः प्रधानमन्त्री बालेन
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले नागरिकलाई हटाउने उद्देश्य नभएको स्पष्ट पारेका छन्। उनले आवासको हक सुनिश्चित गर्दै भूमिहीन र अव्यवस्थित बसोबासको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकार अघि बढेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले पछिल्लो समय भूमिहीन नागरिकमा त्रास फैलाउने प्रयास भइरहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण भएको जानकारी दिए। उनले नागरिकलाई भ्रममा नपर्न, अनावश्यक रूपमा नआत्तिन र अपुष्ट सूचना नफैलाउन आग्रह गरेका छन्।
प्रधानमन्त्री शाहका अनुसार, दीर्घकालीन समाधानमा बाधा बनेका भूमिसम्बन्धी ऐन २०२१ का केही प्रावधान अध्यादेशमार्फत खारेज गरिएको छ। अब वास्तविक भूमिहीन नागरिकको पहिचान गर्न डिजिटल लगत संकलन, विवरण प्रमाणीकरण र अभिलेख तयार गर्ने काम सुरु गरिएको छ।
उनले असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित र व्यवस्थित स्थानमा सार्ने व्यवस्था गरिने बताए। अन्य भूमिहीनका हकमा सम्बन्धित आयोगको सिफारिसका आधारमा सरकारले आवश्यक निर्णय गर्ने पनि उनले उल्लेख गरे।
प्रधानमन्त्री शाहले सरकारका सबै कदम नागरिकलाई हटाउने नभई उनीहरूको आवासको हक सुनिश्चित गर्न र समस्या स्थायी रूपमा समाधान गर्नका लागि भएको दोहोर्याएका छन्।







