सरकारको स्पष्ट भनाइ: लिपुलेक हाम्रो भूमि हो

User Image Prime TV News ४ दिन अगाडि
Image of सरकारको स्पष्ट भनाइ: लिपुलेक हाम्रो भूमि हो

काठमाडौ । सरकारले लिपुलेक क्षेत्र नेपालकै भूमि भएको आफ्नो अडान दोहोर्‍याएको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल आफ्नो दाबीमा स्पष्ट रहेको बताएका छन्।

यसअघि परराष्ट्र मन्त्रालयले आइतबार कूटनीतिक नोट पठाउँदै उक्त क्षेत्रमा कुनै पनि गतिविधि नगर्न छिमेकी मुलुक भारत र चीनलाई आग्रह गरेको थियो। त्यसको जवाफमा भारतले मानसरोवर जाने बाटो पुरानै विषय भएको बताएको छ।

प्रवक्ता पोखरेलले नेपाल सरकार लिपुलेक क्षेत्र नेपालको भूमि हो भन्ने अडानमा दृढ रहेको बताए। उनका अनुसार सीमा विवादका विषयमा दुई देशबीच सहकार्य गरेर समाधान खोजिनुपर्छ। उनले भारतले पनि सहकार्यका माध्यमबाट समस्या समाधान गर्नुपर्ने संकेत दिएको उल्लेख गर्दै कूटनीतिक संवादबाटै निकास निस्कने विश्वास व्यक्त गरे।