दीपा नेपालीको आन्दोलन: समान कोठा अधिकारको माग
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । काठमाडौको माइतीघर मण्डलामा पछिल्ला दिनमा एक फरक आन्दोलन चलिरहेको छ। “कोठा खाली छ?” भन्ने प्रश्न उठाउँदै केही युवाले विभेदविरुद्ध आवाज उठाइरहेका छन्।
यो आन्दोलनको अगुवाइ कैलालीकी दीपा नेपालीले गरेकी हुन्। उनी करिब १३ दिनदेखि माइतीघरमा उभिएर जात, भूगोल र पहिचानका आधारमा कोठा भाडामा हुने विभेद अन्त्य गर्न माग गरिरहेकी छन्।
दीपाका अनुसार काठमाडौँमा कोठा खोज्दा धेरै पटक थर सोधेर अस्वीकार गरिएको अनुभव छ। कहिलेकाहीँ कोठा दिइए पनि पछि थाहा पाएपछि निकालिएको, बैना फिर्ता गरिएको वा बसिसकेपछि हटाइएको उनले बताएकी छन्।
उनी भन्छिन्, “यो आन्दोलन केवल कोठाको समस्या होइन, यो समानता र सम्मानको प्रश्न हो।” उनका अनुसार दलित, मधेसी र लैङ्गिक पहिचानका कारण पनि धेरैले विभेद भोगिरहेका छन्। दीपाले काठमाडौँमा नौ वर्षदेखि यस्तै समस्या भोग्दै आएको बताएकी छन्।
यस अवधिमा धेरै पटक प्रहरी र अदालतसम्म पुगे पनि समाधान नपाएको उनको भनाइ छ। माइतीघरमा सुरु भएको यो आन्दोलनलाई अहिले विभिन्न सांसद, अधिकारकर्मी, विद्यार्थी र नागरिकले समर्थन जनाइरहेका छन्। दीपाले सरकारलाई संविधानअनुसार आवास अधिकार सुनिश्चित गर्न र कोठा भाडामा हुने विभेद अन्त्य गर्न ठोस कदम चाल्न आग्रह गरेकी छन्।







