कम्बोडियामा रहेका नेपालीलाई फर्कन दूतावासको आग्रह

User Image Prime TV News ४ दिन अगाडि
Image of कम्बोडियामा रहेका नेपालीलाई फर्कन दूतावासको आग्रह

काठमाडौ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडियामा रहेका नेपाली नागरिकलाई सावधानी अपनाउन र आवश्यक परे नेपाल फर्कन आग्रह गरेको छ। दूतावासले सोमबार सूचना जारी गर्दै भिसा अवधि सकिएपछि पनि कम्बोडियामा बसिरहेका नेपालीलाई गैरकानुनी गतिविधिबाट टाढा रहन र तुरुन्त स्वदेश फर्कन अनुरोध गरेको हो।

दूतावासका अनुसार केही नेपाली पर्यटकीय भिसामा कम्बोडिया गएर भिसा सकिएपछि पनि त्यहीँ बसिरहेको जानकारी प्राप्त भएको छ। साथै, केही नेपाली अनलाइन ठगी गर्ने केन्द्रमा काम गरिरहेको पनि पाइएको जनाएको छ।

कम्बोडिया सरकारले हालै अनलाइन स्क्यामिङ नियन्त्रणका लागि कडा कानुन लागू गरेको छ। यस अन्तर्गत दोषीलाई ठूलो जरिबाना र आजीवन कैदसम्मको सजाय हुन सक्ने व्यवस्था गरिएको छ। दूतावासले आकर्षक तलबको लोभमा पर्यटकीय भिसामा विदेश नजान र वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य रूपमा श्रम स्वीकृति लिन आग्रह गरेको छ।

साथै, कम्बोडियामा रहेका नेपालीको विवरण संकलन भइरहेको भन्दै अनलाइन फाराम भरेर सहयोग गर्न पनि अनुरोध गरिएको छ। समस्या परेका वा अलपत्र परेका नेपालीको जानकारी दूतावास वा सम्बन्धित निकायमा दिन पनि आग्रह गरिएको छ।