तमिलनाडु चुनावमा विजयको पार्टी टीभीकेले ल्यायो ठूलो उछाल

User Image Prime TV News ४ दिन अगाडि
Image of तमिलनाडु चुनावमा विजयको पार्टी टीभीकेले ल्यायो ठूलो उछाल

काठमाडौ । दक्षिण भारतीय अभिनेता जोसेफ विजय (थलापति विजय) को राजनीति प्रवेशले तमिलनाडुमा ठूलो हलचल ल्याएको छ। उनको पार्टी तमिलगा वेट्री कझगम (टीभीके) ले पहिलो पटक विधानसभा चुनाव लड्दै सत्तारूढ डीएमके र प्रमुख विपक्षी एआईएडीएमकेलाई पछाडि पार्दै अग्रता लिइरहेको छ।

हालको मतगणना अनुसार २३४ सिटमध्ये सरकार बनाउन आवश्यक ११८ सिटको नजिक टीभीके पुगेको देखिन्छ। यसले विजयलाई सम्भावित मुख्यमन्त्रीको रूपमा अघि सारेको छ। मुख्यमन्त्री एम.के. स्टालिनको डीएमके भने तेस्रो स्थानमा खस्किएको छ भने एआईएडीएमके पनि पछाडि परेको छ। केही सिटमा टीभीकेका उम्मेदवारले ठूला नेताहरूलाई समेत पछाडि पारेका छन्।

विजयले सन् २०२४ मा राजनीतिमा प्रवेश गर्दै आफ्नो नयाँ पार्टी घोषणा गरेका थिए। उनले २०२६ को विधानसभा चुनावलाई लक्ष्य बनाएर सिनेमाबाट पूर्ण रूपमा राजनीति रोजेका हुन्। लामो समयदेखि सुपरहिट फिल्महरू दिएका विजयलाई फ्यानहरूले ‘थलापति’ भनेर बोलाउँछन्।

उनको लोकप्रियता चलचित्रभन्दा बाहिर पनि अत्यधिक छ, जसले चुनावी परिणाममा ठूलो प्रभाव पारेको विश्लेषण गरिएको छ। टीभीकेले सामाजिक न्याय, समान अवसर र भ्रष्टाचारविरुद्धको एजेन्डा अघि सारेको छ। तर पार्टीको उदयले तमिलनाडुको परम्परागत दुई दलको राजनीतिक सन्तुलनलाई गम्भीर चुनौती दिएको छ।

अन्तिम नतिजा आउन बाँकी भए पनि प्रारम्भिक रुझानले विजयलाई तमिलनाडु राजनीतिमा नयाँ शक्तिको रूपमा स्थापित गरिरहेको देखिन्छ।