महानगरको पहल: सुकुमबासी बालबालिका विद्यालय जान थाले
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । काठमाडौ महानगरपालिकाले होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई विद्यालय पठाउन सुरु गरेको छ। आजदेखि ५२ जना बालबालिका पढ्न विद्यालय गएका छन्।
नदी किनारका बस्ती हटाउँदा स्थानान्तरण गरिएका परिवारका बालबालिकालाई शिक्षामा जोड्न यो कार्यक्रम ल्याइएको हो। सामाखुसीस्थित राधास्वामी आश्रममा रहेका बालबालिकालाई नजिकैको जनकल्याण माध्यमिक विद्यालयमा भर्ना गरिएको छ।
महानगरका अनुसार ३० जना बालबालिकालाई छात्रबासमा राखेर पढाउने योजना छ। केही बालबालिकाले भने घरमै बस्न चाहेका छन्। शिक्षा विभागका अनुसार विद्यालय उमेरका बालबालिकामध्ये ३० जनालाई अभिभावकले छात्रबासमा राखेर पढाउन इच्छा देखाएका छन् । यसरी इच्छुक हुनेमा ११ छात्रा र १९ छात्र रहेका छन् । विद्यार्थीलाई आवश्यक पोसाक र सामग्रीको व्यवस्था गरिँदैछ। निजी विद्यालयसँग पनि समन्वय गरेर थप सहयोग जुटाउने प्रयास भइरहेको छ।
यसैबीच, एसईई दिएका ४ जना विद्यार्थीलाई सीपमूलक तालिम दिने तयारी गरिएको छ। उनीहरूले कम्प्युटर, सिलाइ-बुनाइ जस्ता सीपमूलक तालिम लिन इच्छा देखाएका छन् । महानगरपालिकाका शिक्षा अधिकारी नमराज ढकालका अनुसार उनीहरूका लागि रुचि अनुसारको सीपमूलक तालिमको प्रबन्ध मिलाइनेछ ।
यसअघि आइतबार महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शैक्षिक संस्थाहरूका प्रतिनिधिहरूसँग छलफल गरी वास्तविक सुकुम्बासीका बालबालिकालाई निःशुल्क आवाससहितको शिक्षा दिन आग्रह गरेकी थिइन् । सोही अनुरूप हिसान, प्याब्सन, एनप्याब्सन र एपेनले संयुक्त विज्ञप्ति जारी गर्दै सहयोग र सहजीकरणका लागि तत्परता देखाएका छन् ।
हाल राधास्वामी आश्रममा ३ जना सुत्केरी, २ जना गर्भवती र १ जना अपाङ्गता भएका व्यक्तिसहित कुल २०३ जना आश्रित रहेका छन् ।







