जनमत पार्टीले समर्थन फिर्ता लियो, मधेस सरकार संकटमा

User Image Prime TV News ३ दिन अगाडि
Image of जनमत पार्टीले समर्थन फिर्ता लियो, मधेस सरकार संकटमा

काठमाडौ । जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सोमबार प्रदेश प्रमुखको कार्यालयमा औपचारिक पत्र बुझाउँदै पार्टी सरकारबाट बाहिरिएको हो।

प्रमुख सचेतक चन्दनकुमार सिंहले पार्टीको निर्णयअनुसार समर्थन फिर्ता लिएको बताएका छन्। तर अर्थमन्त्री महेश यादवले भने यसबारे आफूलाई जानकारी नभएको बताएका छन्। यसले पार्टीभित्रै मतभेद देखिएको छ।

जनमत पार्टीका १२ सांसद छन् र सरकारमा दुई मन्त्रालय सम्हालिरहेको थियो। अब समर्थन फिर्ता लिएपछि सरकार कमजोर बनेको छ। कृष्ण प्रसाद यादव नेतृत्वको सरकारमाथि संकट बढेको छ।

यो संगै नयाँ सरकार बन्ने चर्चा पनि सुरु भएको छ। नेकपा एमाले र जनता समाजवादी पार्टी, जनमत र लोसपा मिलेर नयाँ सरकार बनाउन सक्ने सम्भावना देखिएको छ।

१०७ सदस्यीय मधेस प्रदेश सभामा हाल १ सय जना मात्रै सांसद छन्। एमालेका  २४, जसपाकाा १८, जनमतका १२ र लोसपाको ८ सांसदसहित ६२ जना सांसद नयाँ सरकार गठनको गृहकार्यमा लागेका छन्। 

कांग्रेस नेता कृष्ण यादव गएको मंसिर १९ गते मधेसको मुख्यमन्त्री नियुक्त भएका थिए। कांग्रेससहित जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका यादवलाई पछि एमालेलेसमेत विश्वासको मत दिएको थियो।