गाजामा युद्धविरामका लागि ट्रम्प र नेतान्याहू सहमत


काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू गाजामा जारी द्वन्द्व अन्त्य गर्न युद्धविराम प्रस्तावमा सहमत भएका छन्। वासिङटनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत उनीहरूले नयाँ २० बुँदे शान्ति योजना सार्वजनिक गरेका हुन्।
उक्त योजनामा गाजामा युद्ध रोक्ने, बन्धकहरूको विनिमय गर्ने, हमासका हतियार निष्क्रिय पार्ने र भविष्यमा गाजाको शासन व्यवस्थाको रूपरेखा तयार गर्ने लक्ष्य राखिएको छ।
योजना अनुसार हमासले २० जीवित इजरायली बन्धक रिहा गर्नुपर्नेछ भने मृत घोषित गरिएका दुई दर्जनभन्दा बढी इजरायलीको अवशेष ७२ घण्टाभित्र फिर्ता गरिनुपर्नेछ। बदलीमा इजरायलले सयौं प्यालेस्टिनी कैदी रिहा गर्नेछ, जसमा धेरै आजीवन कारावासको सजाय भोगिरहेका छन्।
राष्ट्रपति ट्रम्पले यो प्रस्तावलाई 'शान्तिको लागि ऐतिहासिक दिन' भनेका छन्। उनले चेतावनी दिँदै भने, 'यदि हमासले यो प्रस्ताव अस्वीकार गर्यो भने, प्रधानमन्त्री नेतान्याहूले जुनसुकै निर्णय लिए पनि अमेरिका पूर्ण साथमा रहनेछ।'
इजरायली प्रधानमन्त्री नेतान्याहूले पनि योजनामा हमासको असहयोग भए इजरायलले कडा कदम चाल्ने स्पष्ट संकेत दिएका छन्। 'यदि हमासले प्रस्ताव अस्वीकार गर्यो भने, इजरायलले आफ्नो कार्य पूरा गर्नेछ,' उनले भने।
ह्वाइट हाउसले प्रस्तुत गरेको यो योजना कतार र इजिप्टमार्फत हमाससम्म पुर्याइएको छ।