जनमत पार्टीभित्र विवाद : समर्थन फिर्ता र कायम दुवै दाबी
Prime TV News ३ दिन अगाडि _ZClym1j2cX.jpg)
काठमाडौ । मधेश प्रदेश सरकारको समर्थनबारे जनमत पार्टी भित्र विवाद चर्किएको छ। बहुमत प्रदेश सांसदहरूले सरकारको समर्थन फिर्ता लिएको पत्र बुझाएको केही घण्टामै संसदीय दलका नेताले भने समर्थन यथावत रहेको बताएका छन्।
संसदीय दलका नेता महेश प्रसाद यादवले प्रदेश प्रमुखलाई पत्र लेख्दै आफ्नो जानकारीबिनाको कुनै पनि निर्णय आधिकारिक नहुने बताएका छन्। उनले कृष्ण प्रसाद यादव नेतृत्वको वर्तमान सरकारलाई जनमत पार्टीको समर्थन कायम रहेको स्पष्ट पारेका छन्।
यसअघि पार्टीका प्रमुख सचेतक चन्दन सिंह ले ९ जना सांसदको हस्ताक्षरसहित समर्थन फिर्ता लिएको पत्र बुझाएका थिए। उनका अनुसार पार्टी अध्यक्ष सीके राउत सँगको परामर्शमा यस्तो निर्णय गरिएको हो। मधेश प्रदेश सभामा जनमत पार्टीका १२ सांसद छन्। तीमध्ये बहुमत सांसदले समर्थन फिर्ता लिएको दाबी गरे पनि दलका नेताले त्यसलाई अस्वीकार गरेपछि पार्टीभित्रै दुई धार देखिएको छ।
हाल नेपाली कांग्रेस नेतृत्वमा मधेश सरकार सञ्चालनमा छ, जसमा नेकपा एमाले बाहेकका दल सहभागी छन्। जनमत पार्टीभित्रको यो विवादले प्रदेश सरकारको भविष्य र नयाँ सत्ता समीकरणबारे चासो बढाएको छ। १०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ। अहिलेको अवस्थाले सरकार टिक्ने वा नयाँ गठबन्धन बन्ने भन्ने विषयमा अन्योलता बढेको देखिन्छ।








