मूल्यवृद्धि नियन्त्रण नभए निर्माण काम ठप्प पार्ने निर्माण व्यवसायी महासंघको चेतावनी
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्री र इन्धनको मूल्य अत्यधिक बढेको भन्दै तत्काल समाधान नभए देशभरका सबै निर्माण काम ठप्प पार्ने चेतावनी दिएको छ।
महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै अहिले निर्माण क्षेत्र गम्भीर संकटमा पुगेको जनाएको छ। महासंघका अनुसार मूल्यवृद्धि र सरकारी बेवास्ताका कारण “कन्स्ट्रक्सन होलिडे” जस्तै अवस्था सिर्जना भएको छ। महासंघका महासचिव शिवहरी घिमिरेका अनुसार डिजेलको मूल्य १३९ रुपैयाँबाट बढेर २२५ रुपैयाँ पुगेको छ। त्यस्तै बिटुमिनको मूल्य ७५ रुपैयाँबाट बढेर १५५ रुपैयाँ प्रति किलो पुगेको छ।
सिमेन्ट, फलाम लगायतका निर्माण सामग्रीको मूल्य पनि बढेकाले पुरानो दररेटमा काम गर्न नसकिने अवस्था आएको महासंघले जनाएको छ। महासंघले यस अवस्थालाई “फोर्स मेजर” भन्दै मूल्य समायोजन गर्न सरकारसँग माग गरेको छ। साथै निर्माण क्षेत्रमा देखिएको समस्या समाधान नगरे परियोजना समयमै पूरा नहुने चेतावनी पनि दिएको छ।
त्यसैगरी चालु आर्थिक वर्षको बजेटमा विनियोजित पुँजीगत खर्च निकै कम भएको भन्दै यसले समग्र निर्माण उद्योग र अर्थतन्त्रमा असर परेको महासंघको भनाइ छ। महासंघले सरकारलाई एक हप्ताभित्र माग सम्बोधन गर्न अल्टिमेटम दिएको छ। माग पूरा नभए देशभरका सबै निर्माण काम बन्द गर्ने चेतावनी समेत दिइएको छ।







