ओमानमाथि नेपालको शानदार जित, सिरिजमा तेस्रो सफलता
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो जित हात पारेको छ। मंगलबार ओमान लाई ८१ रनले हराउँदै नेपालले सिरिजमा बलियो उपस्थिति देखाएको हो।
नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १७५ रनमै अलआउट भयो। ओमानका विनायक शुक्लाले ३६ र हमाद मिर्जाले ३४ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। नेपालका लागि गुल्सन झा ले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए। उनले ९ ओभरमा ३८ रन खर्चिए। सन्दीप लामिछाने ले १ विकेट लिए भने करण केसी, नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल २५६ रनमा अलआउट भयो। ओपनर आसिफ शेख ले ९४ रन बनाएर उत्कृष्ट प्रदर्शन गरे, तर शतकबाट ६ रनले चुके। अर्जुन कुमालले ४८ रन जोडे। मध्यक्रममा कप्तान रोहितकुमार पौडेल ले ९ रन र उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३३ रन बनाए। अन्तिमतिर आरिफ शेख ले आक्रामक ब्याटिङ गर्दै ४३ रन जोडे।
यस सिरिजमा नेपालले संयुक्त अरब इमिरेट्स विरुद्धका दुवै खेल जितिसकेको छ भने ओमानसँगको पहिलो खेलमा पराजित भएको थियो। अंक तालिकामा ओमान ३१ अंकसहित तेस्रो स्थानमा छ भने नेपाल १८ अंकसहित सातौं स्थानमा रहेको छ। यस सिरिजमा नेपालले तीन खेल जित्नु पहिलो पटक हो।







