इन्धनको मूल्य घटाउन नसकिने सरकारको भनाइ

User Image Prime TV News ३ दिन अगाडि
Image of इन्धनको मूल्य घटाउन नसकिने सरकारको भनाइ

काठमाडौ । सरकारले अहिले पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्धनको मूल्य विदेशबाट आउने दर अनुसार तय हुने भएकाले घटाउन कठिन भएको बताएका छन्।

उनका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नेपालले इन्धन किन्ने भएकाले सस्तोमा बेच्न सजिलो छैन। उनले सरकार अहिले पनि ग्यास र पेट्रोलजस्ता इन्धन घाटामा बेचिरहेको दाबी गरे। सचिव राउतले यदि पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू गरियो भने अहिलेभन्दा अझ महँगो पर्न सक्ने बताए।

त्यसैले उपभोक्तालाई धेरै मार नपरोस् भनेर सरकारले मूल्य केही नियन्त्रणमा राखेको उनको भनाइ छ। उनले महँगोमा किनेर सस्तोमा बेच्दा पुरानो नाफा पनि सकिएको बताए। त्यसैले कहिलेकाहीँ मूल्य बढाउनु सरकारको बाध्यता भएको उनले स्पष्ट पारे। त्यस्तै नेपाल आयल निगम नाफामा नरहेकाले त्यहाँका कर्मचारीले बोनस पाउने अवस्था पनि नरहेको सरकारले जनाएको छ।