ट्रम्पले फेरि राष्ट्रपति बन्ने इच्छा व्यक्त, तर कानुनी बाटो कठिन
Prime TV News २ दिन अगाडि 
काठमाडौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेका छन्। ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा उनले अझै केही वर्ष पदमा रहन चाहेको बताएका थिए। उनको भनाइ सुनेपछि कार्यक्रममा उपस्थित मानिसहरू हाँसेका थिए, तर ट्रम्पले आफू मजाक नगरेको बताएका छन्।
उनले आफू अझै ऊर्जावान रहेको दाबी गर्दै उमेरले काममा असर नगरेको बताए। छिट्टै ८० वर्ष पुग्न लागेका ट्रम्पले आफूलाई अझै जवान महसुस हुने पनि बताए। यसअघि पनि उनले तेस्रो कार्यकालका लागि संकेत दिँदै आएका छन्। यसैबीच रिपब्लिकन सांसदले ट्रम्पलाई फेरि चुनाव लड्न मिल्ने बनाउन संविधान संशोधन गर्ने प्रस्ताव ल्याएका थिए। तर त्यो प्रस्ताव अघि बढ्न सकेन। अमेरिकी संविधान अनुसार कुनै पनि व्यक्ति दुईपटकभन्दा बढी राष्ट्रपति बन्न पाउँदैन। यो नियम पूर्व राष्ट्रपति फ्यांकलिन डी. रूजवेल्टले चारपटक राष्ट्रपति निर्वाचित भएपछि लागू गरिएको हो । संविधान संशोधन गर्न कंग्रेसमा दुईतिहाइ बहुमत र धेरै राज्यको समर्थन आवश्यक पर्छ। अहिलेको अवस्थामा यस्तो सम्भावना निकै कम देखिन्छ। हाल रिपब्लिकन पार्टीसँग सिनेटमा १०० मध्ये ५२ र हाउस अफ रिप्रिजेन्टेटिभ्समा ४३५ मध्ये २२० सदस्य मात्र छन् । संविधान संशोधनका लागि आवश्यक दुईतिहाइ बहुमतभन्दा यो निकै कम हो ।कंग्रेसबाट प्रस्ताव पारित भए पनि ५० मध्ये ३८ राज्यको अनुमोदन आवश्यक पर्छ ।







