कम्बोडियामा रहेका नेपालीलाई फर्काउन दूतावासको पहल, ६३ जनाका लागि अनुमति तयार
Prime TV News २ दिन अगाडि 
काठमाडौ । थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा रहेका र नेपाल फर्कन चाहने ६३ जना नेपालीका लागि यात्रा अनुमति पत्र तयार गरेको छ। दूतावासका अनुसार अनलाइन फाराम भरेका व्यक्तिहरूको विवरणका आधारमा कागजात बनाइ पठाइएको हो।
दूतावासले अझै फाराम भर्न बाँकी रहेका नेपालीलाई पनि छिट्टै विवरण बुझाउन आग्रह गरेको छ। बुधबारसम्म फाराम भर्नेहरूको कागजात पनि क्रमशः पठाइने जनाइएको छ। यसअघि दूतावासले ४६ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइसकेको छ।
तीमध्ये धेरैजसो व्यक्ति विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेका थिए। उनीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन ठगी केन्द्र र क्यासिनोमा काम गर्न लगाइएको थियो। दूतावासका अनुसार अझै केही नेपाली कम्बोडियामा समस्यामा परेका छन्। उनीहरूलाई पनि सुरक्षित रूपमा नेपाल फर्काउने प्रयास भइरहेको छ।
कम्बोडिया सरकारले हालै अनलाइन ठगी नियन्त्रण गर्न कडा कानून लागू गरेको छ। यसअनुसार यस्ता काममा संलग्न व्यक्तिलाई ठूलो जरिवाना र आजीवन कैदसम्म सजाय हुन सक्छ। साथै, त्यस्ता अवैध केन्द्रहरू बन्द गर्ने र संलग्न व्यक्तिलाई पक्राउ गर्ने काम पनि तीव्र पारिएको छ।
दूतावासले नेपाली नागरिकलाई भिजिट भिसामा रोजगारीका लागि विदेश नजान आग्रह गरेको छ। उच्च तलबको लोभमा परेर जानेहरू जोखिममा पर्ने भन्दै सचेत गराइएको छ। विदेश जानुअघि आवश्यक कागजात र सरकारी स्वीकृति लिएर मात्र जान पनि दूतावासले सुझाव दिएको छ। साथै, मानव बेचबिखनमा संलग्न व्यक्तिविरुद्ध उजुरी दिन पनि आग्रह गरिएको छ।







