संघीय लोकतान्त्रिक मोर्चा संकटमा, दलहरूबीच असहमति बढ्दै

User Image Prime TV News २ दिन अगाडि
Image of संघीय लोकतान्त्रिक मोर्चा संकटमा, दलहरूबीच असहमति बढ्दै

काठमाडौ । तराई मधेस केन्द्रित दलहरू मिलेर बनेको संघीय लोकतान्त्रिक मोर्चा अहिले संकटमा परेको देखिएको छ। मोर्चाको नेतृत्व महन्थ ठाकुरले गर्दै आएका छन्। तर मोर्चामा रहेका दलहरूबीच आपसी समन्वय कमजोर बन्दै गएको छ।

नियमित बैठक बोलाइए पनि धेरै नेताहरू उपस्थित नहुने गरेको बताइएको छ। मोर्चाका नेताहरूका अनुसार केही नेताहरू मात्रै कहिलेकाहीँ बैठकमा आउने गरेका छन् भने धेरै दलका प्रतिनिधि बैठकमै नआउने अवस्था छ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव बैठकमा सहभागी नभएको बताइएको छ। त्यस्तै नागरिक उन्मुक्ति पार्टी नेपाल पनि मोर्चाबाट बाहिरिइसकेको छ। केही अन्य दलहरू पनि सक्रिय रूपमा सहभागी हुन छाडेका छन्।

मोर्चाभित्र पार्टी एकीकरण गर्ने विषयमा छलफल भए पनि अझै सहमति जुट्न सकेको छैन। नयाँ पार्टीमा नेतृत्व कसले गर्ने भन्ने विषयमा पनि मतभेद देखिएको छ।

केही नेताहरूले सबै वर्तमान अध्यक्षहरूले नेतृत्व छाड्नुपर्ने बताएका छन् भने केही नेताहरू आफ्नो नेतृत्व छाड्न तयार नभएको बताइएको छ। यसैबीच रेशम चौधरीले मोर्चाको औचित्य कमजोर हुँदै गएको टिप्पणी गरेका छन्। उनले दलहरूबीच सहमति नभए मोर्चा प्रभावहीन बन्न सक्ने बताएका छन्।

अहिले मोर्चाको भविष्य अनिश्चित बनेको छ र एकता प्रक्रिया अघि बढ्ने वा नबढ्ने विषयमा अन्योल देखिएको छ।