पूर्वविशिष्ट पदाधिकारीको सवारी साधनबारे विवरण माग, गृह मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
Prime TV News २ दिन अगाडि 
काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका सवारीसाधनको विवरण माग गरेको छ। यसका लागि गृह मन्त्रालयलाई तत्काल जानकारी पठाउन निर्देशन दिइएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार आजै कार्यालय समयभित्र सबै विवरण उपलब्ध गराउन भनिएको छ। सचिवालयले गरेको प्रारम्भिक अध्ययनमा केही पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनले तोकेकोभन्दा बढी सुविधा लिएको वा विभिन्न निकायबाट दोहोरो सुविधा लिएको देखिएपछि विवरण माग गरिएको हो।
निर्देशनअनुसार पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख र पूर्वराष्ट्रियसभा अध्यक्षले प्रयोग गरिरहेका सवारीसाधन र अन्य सुविधाको पूर्ण विवरण पठाउन भनिएको छ।
प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार राज्यको खर्च नियन्त्रण गर्न र प्रणालीलाई पारदर्शी बनाउन यो कदम चालिएको हो। सरकारले प्राप्त विवरणका आधारमा बढी सुविधा लिएकाबाट सवारीसाधन फिर्ता गराउने र सुविधा प्रणालीलाई व्यवस्थित बनाउने तयारी गरेको छ।







