आवास मन्त्रालय नछुट्याए भविष्यमा संकट आउन सक्छ : बाबुराम भट्टराई
Prime TV News २ दिन अगाडि 
काठमाडौ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले मन्त्रालय घटाउने तयारी गरिरहे पनि आवास तथा सहरी विकास मन्त्रालयलाई छुट्टै राख्नुपर्ने सुझाव दिएका छन्। सामाजिक सञ्जालमा विचार राख्दै उनले मन्त्रालय घटाउने योजना सही भए पनि आवास र सहरी विकासलाई बेवास्ता गर्नु गलत हुने बताएका छन्।
उनका अनुसार अमेरिका, जर्मनी, भारत, चीनलगायत देशमा आवास तथा सहरी विकासका लागि छुट्टै मन्त्रालय रहेको छ। नेपालमा पनि तीव्र रूपमा बढिरहेको सहरीकरणका कारण यस्तो मन्त्रालय अझ आवश्यक हुने उनको भनाइ छ।
भट्टराईले समयमै सहरी विकासको योजना नबनाइए भविष्यमा ठूलो समस्या आउन सक्ने चेतावनी दिएका छन्। हाल देखिएको सुकुमबासी समस्या त्यसको प्रारम्भिक संकेत भएको उनले उल्लेख गरेका छन्। सरकारले अघि सारेको एकीकृत पूर्वाधार मन्त्रालयको अवधारणाले सडक र रेलजस्ता क्षेत्रमा बढी ध्यान दिने तर आवास र सहरी विकास ओझेलमा पर्न सक्ने उनले बताएका छन्।
संघीय संरचनामा पनि सहरी विकास जस्तो विषय प्रदेश र स्थानीय तहले मात्र सम्हाल्न कठिन हुने भन्दै संघीय स्तरमै स्पष्ट नीति र संयन्त्र आवश्यक रहेको उनले जोड दिएका छन्। सरकारले यस विषयलाई गम्भीर रूपमा लिएर उपयुक्त निर्णय गर्ने अपेक्षा समेत भट्टराईले व्यक्त गरेका छन्।






