कांग्रेसभित्र विवाद समाधान प्रयास तीव्र, सभापति गगन थापाले नेताहरूसँग छलफल

User Image Prime TV News २ दिन अगाडि
Image of कांग्रेसभित्र विवाद समाधान प्रयास तीव्र, सभापति गगन थापाले नेताहरूसँग छलफल

काठमाडौ । नेपाली कांग्रेस भित्र विशेष महाधिवेशनपछि देखिएको विवाद समाधान गर्न शीर्ष नेताहरू सक्रिय भएका छन्। गत पुसमा भएको विशेष महाधिवेशनपछि गगन थापा सभापति बने पनि पार्टीभित्र एकता बन्न सकेको छैन। संस्थापन पक्ष र अन्य समूहबीच असहमति अझै कायम छ।

पार्टी केन्द्रीय समितिले विवाद समाधानको जिम्मेवारी सभापति थापालाई नै दिएको छ। त्यसपछि उनले नेताहरूसँग भेटघाट बढाएका छन्। थापाले निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्का र नेता शेखर कोइराला सँग छुट्टाछुट्टै भेट गरी पार्टी एकताको विषयमा छलफल गरेका छन्।

खड्कासँगको भेटमा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने विषयमा सकारात्मक छलफल भएको बताइएको छ। कोइरालासँगको भेटमा भने विवाद समाधानका लागि स्पष्ट योजना ल्याउनुपर्ने सुझाव दिइएको छ। उपसभापति विश्व प्रकाश शर्मा सहितका नेताहरू पनि समाधान खोज्ने प्रयासमा सहभागी छन्।

पार्टी नेताहरूका अनुसार सबै पक्षलाई समेटेर एकता कायम गर्ने प्रयास भइरहेको छ। सहमहामन्त्री उदय शमशेर राणाले विधानअनुसार समस्या समाधान गर्न पार्टी तयार रहेको बताएका छन्। कांग्रेसभित्र जारी छलफललाई अहिले राजनीतिक रूपमा महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।