संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढ्ने

User Image Prime TV News एक दिन अगाडि
Image of संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढ्ने

काठमाडौ । प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह ले साँझ ५ बजेका लागि बैठक आह्वान गरेका हुन्।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ। परिषद्को सचिवालयले जारी गरेको पत्रअनुसार बैठकको मुख्य एजेन्डा नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने रहेको छ।

हाल सर्वोच्च अदालतमा प्रधानन्यायाधीश पद रिक्त छ। त्यसकारण कायममुकायम प्रधानन्यायाधीशका रूपमा सपना प्रधान मल्ल ले जिम्मेवारी सम्हाल्दै आएकी छन्। लामो समय परिषद्को बैठक नबस्दा नियुक्ति प्रक्रिया रोकिएको थियो।

आजको बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, कानुनमन्त्री सोविता गौतम, विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र उपसभामुख रुवी कुमारी लाई बोलाइएको छ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेल ले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका थिए। नयाँ अध्यादेशमा परिषद्को बैठकका लागि चार सदस्य उपस्थित भए पुग्ने व्यवस्था गरिएको छ। साथै उपस्थित सदस्यहरूको बहुमतबाट निर्णय गर्न सकिने प्रावधान पनि राखिएको छ।

सरकारले अध्यादेशमार्फत संवैधानिक नियुक्तिको बाटो खोल्न खोजे पनि विपक्षी दलहरूले भने यसलाई विवादास्पद कदम भन्दै आलोचना गरिरहेका छन् ।