बागमती प्रदेशमा आज तेस्रो प्रदेश भाषा दिवस मनाइँदै
Prime TV News एक दिन अगाडि 
काठमाडौ । बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदैछ। प्रदेशभर सांस्कृतिक कार्यक्रम, छलफल र भाषा संरक्षणसम्बन्धी गतिविधि आयोजना गरिएको छ।
प्रदेश सरकारले २०८१ सालदेखि प्रत्येक वर्ष वैशाख २४ गते प्रदेश भाषा दिवस मनाउन सुरु गरेको हो। प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० लागू भएपछि यो दिवस मनाउन थालिएको हो।
उक्त ऐन २०८० साल कात्तिक २३ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियो। ऐनअनुसार राजपत्रमा प्रकाशित भएको १८० दिनपछि कार्यान्वयनमा आउने व्यवस्था गरिएको थियो। त्यसअनुसार २०८१ वैशाख २४ गते ऐन पूर्ण रूपमा लागू भएपछि सोही दिनदेखि प्रदेश भाषा दिवस मनाउन सुरु गरिएको हो।
प्रदेश सरकारले भाषा दिवसको अवसरमा आज बागमती प्रदेशभर सार्वजनिक बिदा पनि दिएको छ। सरकारले प्रदेशभित्र बोलिने विभिन्न मातृभाषाको संरक्षण, प्रवर्द्धन र सरकारी कामकाजमा प्रयोग बढाउने उद्देश्यले भाषा दिवस मनाउँदै आएको जनाएको छ ।







