उपराष्ट्रपतिलाई राष्ट्रिय सभा अध्यक्ष बनाउनुपर्ने बास्कोटाको प्रस्ताव
Prime TV News एक दिन अगाडि 
काठमाडौ । गोकुल बास्कोटाले संविधान संशोधनको बहस चलिरहेका बेला उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने व्यवस्था गर्न प्रस्ताव गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले अहिलेको संघीय संरचनामा जिल्ला समन्वय समिति आवश्यक नरहेको बताएका छन्। उनका अनुसार संविधान संशोधन गर्दा केन्द्र र स्थानीय तहलाई मात्रै बलियो बनाउने गरी व्यवस्था गर्नुपर्छ।
बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति संकेत गर्दै पहिले संघीयता खारेजको कुरा उठाउनेहरूले अहिले संविधान संशोधनबारे स्पष्ट धारणा दिनुपर्ने बताएका छन्।
उनले राष्ट्रिय सभा १०५ सदस्यीय हुनुपर्ने र पूर्ण रूपमा समावेशी बनाइनुपर्ने धारणा पनि राखेका छन्। महिला र पुरुषको सहभागिता ५०–५० प्रतिशत हुनुपर्ने तथा उपराष्ट्रपति नै राष्ट्रिय सभाको सभाध्यक्ष हुने व्यवस्था गर्नुपर्ने उनको प्रस्ताव छ।
त्यस्तै उनले प्रतिनिधिसभामा रहेको समानुपातिक निर्वाचन प्रणाली हटाएर प्रत्यक्ष निर्वाचनमै महिला–पुरुषको सहभागिता सुनिश्चित गर्नुपर्ने बताएका छन्। उनका अनुसार प्रत्यक्ष निर्वाचनमा ६०–४० प्रतिशतको अनिवार्य व्यवस्था गरिनुपर्छ।







