ट्रम्पमाथि भएको हमलामा इरान युद्धको प्रभाव हुन सक्ने आशंका
Prime TV News एक दिन अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको डिनर कार्यक्रममा भएको गोलीकाण्ड इरानसँगको युद्ध तनावसँग जोडिएको हुन सक्ने आशंका गरिएको छ।
अमेरिकी गृह सुरक्षा विभागको प्रारम्भिक रिपोर्टमा आक्रमणकारी इरान–अमेरिका युद्धबाट प्रभावित भएको उल्लेख गरिएको छ। रिपोर्टअनुसार ३१ वर्षीय कोल टमस एलेनले ट्रम्प र उनका प्रशासनका उच्च अधिकारीहरूलाई निशाना बनाउने प्रयास गरेका थिए।
उनका सामाजिक सञ्जाल पोस्टहरूमा अमेरिकी सैन्य कारबाहीको कडा विरोध गरिएको पाइएको बताइएको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार आक्रमणकारी युद्ध र अमेरिकी नीतिप्रति आक्रोशित रहेको प्रारम्भिक निष्कर्ष निकालिएको छ।
तर एफबीआइ, अमेरिकी न्याय विभाग र गृह सुरक्षा विभागले भने यसबारे औपचारिक प्रतिक्रिया दिएका छैनन्। यो घटना अप्रिल २५ मा आयोजित ‘ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनर’का क्रममा भएको थियो। कार्यक्रममा गोली चलेपछि ठूलो भागदौड र त्रास फैलिएको थियो।
सुरक्षाकर्मीहरूले ट्रम्पसम्म पुग्नुअघि नै आक्रमणकारीलाई नियन्त्रणमा लिएका थिए। घटनामा एक जना ‘सेक्रेट सर्भिस’ एजेन्ट घाइते भएका थिए।
त्यस समयमा कार्यक्रममा करिब २ हजार ५०० पाहुना उपस्थित थिए। गोली चलेपछि धेरै पाहुना टेबुलमुनि लुकेका थिए। सुरक्षाकर्मीहरूले तत्काल ट्रम्प, मेलानिया ट्रम्प र उपराष्ट्रपति जेडी भान्स लगायतलाई सुरक्षित स्थानमा लगेका थिए।







