अमेरिका र इरान युद्ध रोक्न सम्झौताको नजिक

User Image Prime TV News एक दिन अगाडि
Image of अमेरिका र इरान युद्ध रोक्न सम्झौताको नजिक

काठमाडौ । अमेरिका र इरान बीच जारी युद्ध रोक्न ठूलो कूटनीतिक पहल भइरहेको छ। समाचार संस्था रोयटर्सका अनुसार दुवै देश १४ बुँदे सम्झौतामा सहमतिनजिक पुगेका छन्।

समाचारमा जनाइएअनुसार आगामी ४८ घण्टाभित्र सम्झौताबारे अन्तिम टुंगो लाग्न सक्ने सम्भावना छ। प्रस्तावित सम्झौताअनुसार इरानले आफ्नो आणविक कार्यक्रम अस्थायी रूपमा रोक्नेछ।

त्यसको बदलामा अमेरिकाले इरानमाथिका केही आर्थिक प्रतिबन्ध खुकुलो पार्ने र रोक्का गरिएको अर्बौं डलर बराबरको सम्पत्ति फुकुवा गर्ने तयारी गरेको बताइएको छ।

त्यस्तै होर्मुज जलमार्गमा जहाज आवागमनमा लगाइएको अवरोध हटाउने विषय पनि सम्झौतामा समावेश गरिएको छ। यो जलमार्ग लामो समयदेखि युद्ध तनावका कारण प्रभावित बनेको थियो।

सम्झौताअन्तर्गत ३० दिनसम्म वार्ता जारी रहने बताइएको छ। यदि वार्ता सफल नभए अमेरिकाले फेरि सैन्य कारबाही वा नाकाबन्दी गर्न सक्ने सर्त राखिएको खबरमा उल्लेख छ।

वार्तामा अमेरिकी प्रतिनिधि स्टिभ विट्कोफ, जेरेड कुशनर र इरानी अधिकारीहरू सहभागी रहेको जनाइएको छ। पाकिस्तान ले मध्यस्थकर्ताको भूमिका खेलेको बताइएको छ।

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले होर्मुज क्षेत्रमा सञ्चालन गरिएको ‘प्रोजेक्ट फ्रिडम’ नौसैनिक अभियान अस्थायी रूपमा रोक्ने निर्णय गरेका छन्। यसलाई वार्तामा सकारात्मक प्रगति भएको संकेत मानिएको छ।

सम्झौताको खबर सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय बजारमा पनि सकारात्मक प्रभाव परेको छ। कच्चा तेलको मूल्य घटेको छ भने विश्वका सेयर बजारमा सुधार देखिएको छ।