सर्वोच्चको व्याख्या मान्नुपर्छ : विश्वप्रकाश शर्मा
Prime TV News एक दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको निर्णय र व्याख्या सबैले पालना गर्नुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै संविधान अनुसार बहुमतका लागि आधाभन्दा बढी संख्या आवश्यक हुने बताएका हुन्।
शर्माको टिप्पणी ६ सदस्यीय संवैधानिक परिषद्मा ३ जनाको उपस्थितिलाई बहुमत मान्ने अध्यादेशतर्फ लक्षित छ। उनले संविधानको धारा १२८(४) उल्लेख गर्दै सर्वोच्च अदालतको व्याख्या बाध्यकारी हुने बताएका छन्। उनले २०८१ जेठ १४ गते सर्वोच्च अदालतले गरेको गण्डकी प्रदेशसभा सम्बन्धी फैसलाको उदाहरण पनि दिएका छन्।
उक्त फैसलामा ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सदस्य आवश्यक हुने व्याख्या गरिएको थियो। शर्माले लोकतान्त्रिक अभ्यासमा बहुमतको स्पष्ट मापदण्ड हुने उल्लेख गर्दै उत्तर कोरिया बाहेक अन्यत्र यस्तो अभ्यास नदेखिने टिप्पणी गरेका छन्। त्यसक्रममा उनले रवि लामिछाने लाई लक्षित गर्दै विगतका गल्ती सच्याउने कुरा गर्नेहरूले व्यवहारमा पनि लोकतान्त्रिक मूल्य मान्नुपर्ने बताएका छन्।







