जलवायु नीति व्यवहारमा लागू गरिन्छ : मन्त्री चौधरी
Prime TV News एक दिन अगाडि 
काठमाडौ । वन तथा वातावरणमन्त्री गीता चौधरीले सरकारले तयार गरिरहेको ‘राष्ट्रिय जलवायु परिवर्तन नीति, २०८२’ लाई व्यवहारमा लागू हुने गरी बनाइने बताएकी छन्।
वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको कार्यशालामा बोल्दै उनले विगतमा बनेका धेरै नीति र कानुन कार्यान्वयन नहुँदा कागजमै सीमित भएको बताइन्। अब भने नीति कार्यान्वयनमा विशेष ध्यान दिइने उनको भनाइ थियो।
मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण हिमाल पग्लिने, बाढी आउने, खडेरी बढ्ने र वन डढेलोका घटना बढिरहेको बताइन्। यसले कृषि उत्पादन र खाद्य सुरक्षामा पनि असर परेको उनले उल्लेख गरिन्। उनले नेपालले हरितगृह ग्यास कम उत्सर्जन गरे पनि जलवायु परिवर्तनको असर बढी भोग्नुपरेको बताइन्।
नयाँ नीतिमा गरिब, दलित, महिला, आदिवासी जनजाति, अल्पसङ्ख्यक र अपाङ्गता भएका व्यक्तिका समस्या समेटिने उनले जानकारी दिइन्। सीमान्तकृत समुदायलाई प्राथमिकतामा राखिने उनको भनाइ थियो। मन्त्री चौधरीले वन क्षेत्रलाई आम्दानी र रोजगारीसँग जोड्ने योजना सरकारको रहेको पनि बताइन्। कार्बन व्यापार र पर्यापर्यटनमार्फत अर्थतन्त्रमा योगदान बढाइने उनले उल्लेख गरिन्।
उनले आधुनिक प्रविधि र परम्परागत ज्ञानलाई सँगै प्रयोग गरेर जलवायु अनुकूलनका कार्यक्रम सञ्चालन गरिने बताइन्। साथै, सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेकोमा जोड दिइन्।







