आईपीएलमा किंग्स पन्जाब ३३ रनले सनराइजर्स हैदराबादसँग हार्यो

User Image Prime TV News एक दिन अगाडि
Image of आईपीएलमा किंग्स पन्जाब ३३ रनले सनराइजर्स हैदराबादसँग हार्यो

काठमाडौ । कुपर कोनलीको शतकका बाबजुद किंग्स पन्जाबले इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादसँग ३३ रनको हार व्यहोरेको छ । बुधबार राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा घरेलु टोली हैदराबादले प्रस्तुत गरेको २३६ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाएर २०२ रन बनायो ।

पन्जाबका कोनलीले अविजित १०७ रनको इनिङ खेले । उनले ५९ बलमा आठ छक्का र सात चौका प्रहार गरे । मार्कोस स्टोइनिसले २८, सूर्यान्स शेड्गेले २५ र मर्को यानसनले १९ रन बनाए । सातौँ विकेटका लागि कोनली र यानसबीच ६८ रनको साझेदारी भएको थियो ।

हैदराबादका कप्तान प्याट कमिन्स र शिभान्ग कुमारले समान दुई विकेट लिए । नितिशकुमार रेड्डी, इशान मालिंगा र सकिब हुसैनले एक–एक विकेट लिएका थिए । त्यसअघि, टस हारेर ब्याटिङका लागि आएको हैदराबादले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २३५ रनको योगफल तयार पारेको थियो ।

हैदराबादका हेनरिक क्लासेनले सर्वाधिक ६९ रनको इनिङ खेले । उनले ४३ बलमा चार छक्का र तीन चौका प्रहार गरे । इशान किशनले ५५ रनको योगदान गरे । उनले ३२ बलमा चार छक्का र दुई चौका प्रहार गरे । ट्रभिस हेडले ३८ र अभिषेक शर्माले ३५ रन बनाउँदा नितिशकुमार रेड्डी २९ रनमा अविजित रहे ।

पन्जाबका अर्शदीप सिंह, लोकी फर्गुसन, युज्वेन्द्र चहल र विजयकुमार वैशाकले समान एक विकेट लिए । क्लासेनले तेस्रो विकेटका लागि किशनसँग ८८ र पाँचौँ विकेटका लागि रेड्डीसँग ६३ रनको साझेदारी गरे । पहिलो विकेटका निम्ति हेड र शर्माबीच ५४ रनको साझेदारी भएको थियो ।

जितसँगै ११ खेलमा १४ अंक जोडेको हैदराबाद शीर्ष स्थानमा उक्लिएको छ । पराजित पन्जाब १० खेलबाट १३ अंकका साथ दोस्रो स्थानमा झरेको छ ।