बाढीपछि तीन दिनमा खुल्यो बीपी राजमार्ग
Prime TV News एक दिन अगाडि 
काठमाडौ । बीपी राजमार्गमा तीन दिनपछि सवारी आवागमन पुनः सुरु भएको छ। बाढीले सडक अवरुद्ध भएपछि बन्द गरिएको राजमार्ग अस्थायी डाइभर्सन बनाएर बिहीबार बिहानदेखि खुलाइएको हो।
सोमबार परेको लगातार वर्षापछि रोशी खोलामा आएको बाढीले सडकमा क्षति पुर्याएको थियो। त्यसपछि यातायात पूर्ण रूपमा रोकिएको थियो। जिल्ला प्रहरी कार्यालयले वर्षा अझै जारी रहेकाले अत्यावश्यक कामबाहेक यो मार्ग प्रयोग नगर्न आग्रह गरेको छ।
प्रहरीका अनुसार वर्षा हुनेबित्तिकै रोशी क्षेत्रको अस्थायी डाइभर्सनमा क्षति पुग्ने जोखिम रहने भएकाले आवश्यक परे फेरि आवागमन रोक्न सकिनेछ। राजमार्ग बन्द हुँदा सवारीसाधनलाई धुलिखेल, मङ्गलटार र नेपालथोक लगायत स्थानमा रोकेर राखिएको थियो।
गत वर्षको बाढीपहिरोले यस सडकको विभिन्न भाग बगाएपछि अहिले अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको छ। सडक पुनर्निर्माणको काम पनि जारी रहेको जनाइएको छ।







