देशभर लगातार वर्षा, काठमाडौ सहित धेरै ठाउँमा असर

User Image Prime TV News एक दिन अगाडि
Image of देशभर लगातार वर्षा, काठमाडौ सहित धेरै ठाउँमा असर

काठमाडौ । बिहीबार बिहानदेखि काठमाडौ उपत्यकासहित देशका धेरै भागमा लगातार पानी परिरहेको छ। पानीका कारण काठमाडौंका विभिन्न स्थानमा जलमग्न भएको छ भने नदीहरूमा पानीको बहाव पनि बढेको छ।

मौसमविद्हरूका अनुसार अहिले देखिएको वर्षा प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै गइरहेको छ। यसले देशभर पालैपालो वर्षा गराइरहेको छ। जल तथा मौसम विज्ञानका अनुसार बिहीबार दिनभर पश्चिमदेखि पूर्वसम्म विभिन्न ठाउँमा पानी पर्ने र यो अवस्था अझै करिब दुई हप्तासम्म रहन सक्ने सम्भावना रहको जनाएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको बुलेटिन अनुसार शनिबारसम्म पनि देशका धेरै भागमा वर्षा हुने सम्भावना छ। आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्ने बताइएको छ। अन्य प्रदेशका पहाडी, हिमाली र तराई क्षेत्रमा पनि केही ठाउँमा वर्षा र हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार शुक्रबार पनि धेरै ठाउँमा बादल लाग्नेछ र केही स्थानमा हल्का वर्षा हुन सक्छ। शनिबार पनि मौसममा ठूलो सुधार नआउने अनुमान गरिएको छ। लगातार वर्षाका कारण जनजीवन प्रभावित भएको छ।