अञ्जनकुमार श्रेष्ठले उद्योग वाणिज्य महासंघको पदभार सम्हाले
Prime TV News एक दिन अगाडि 
काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका नवनियुक्त अध्यक्ष अञ्जनकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन्। महासंघको ६०औँ साधारणसभा तथा निर्वाचन बुधबार सम्पन्न भएपछि बिहीबार उनी टेकुस्थित महासंघको सचिवालयमा पुगेर औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन्।
यसअघि वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ स्वतः अध्यक्ष बनेका हुन्। निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भएपछि उनले नेतृत्व सम्हालेका हुन्। संशोधित विधानअनुसार अब वरिष्ठ उपाध्यक्ष पद सेरेमोनियल रहनेछ। उक्त पदलाई निर्वाचित कार्यसमितिले चयन गर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, महासंघमा अब चार उपाध्यक्ष रहनेछन्—जिल्ला/नगर उपाध्यक्ष दुई, वस्तुगत उपाध्यक्ष एक र एसोसिएट उपाध्यक्ष एक। साथै ६८ जना समूहगत कार्यकारी सदस्य प्रत्यक्ष निर्वाचनबाट चयन हुने व्यवस्था छ। श्रेष्ठ नेतृत्वको कार्यसमितिको कार्यकाल तीन वर्ष रहनेछ।







