एमआरपी विवादपछि भन्सार जाँचपास पुनः सुरु, नाकामा देखिएको अन्योल हट्यो
Prime TV News एक दिन अगाडि 
काठमाडौ । सरकारले आयातित वस्तुमा भन्सार बिन्दुमै अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गर्ने निर्णयमा लचिलो बनेसँगै देशका प्रमुख नाकामा देखिएको गतिरोध अन्त्य भएको छ। यसअघि एमआरपी व्यवस्थाबारेको विवादका कारण रोकिएको भन्सार जाँचपास प्रक्रिया बुधबारदेखि पुनः सुरु भएको छ।
भन्सार विभाग र व्यवसायीबीच भएको सहमतिपछि सामानको जाँचपास फेरि सुचारु भएको हो। नयाँ सहमति अनुसार अब आयातकर्ताले भन्सारमै वस्तुको एमआरपी स्वघोषणा गर्नेछन्। तर लेबल भने आफ्नै गोदाममा लगाएर मात्र बजारमा पठाउन पाइने व्यवस्था गरिएको छ।
भन्सार विभागले सबै कार्यालयलाई यही आधारमा जाँचपास गर्न निर्देशन दिएको छ। विभागका अनुसार यो व्यवस्था तत्कालका लागि तीन महिनासम्म लागू हुनेछ। एमआरपी विवादका कारण केही दिनदेखि वीरगञ्ज, विराटनगर लगायतका नाकामा मालसामान रोकिएको थियो। तर जाँचपास सुरु भएसँगै ती नाकामा सामानको आवागमन फेरि सामान्य बन्दै गएको छ।
विभागका अनुसार जाँचपास खुलेको पहिलो दिनमै भन्सारबाट करिब १ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन भएको छ। यसअघि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एमआरपी लेबल अनिवार्य गर्ने सूचना जारी गरेको थियो। तर भन्सारमै लेबल लगाउनुपर्ने व्यवस्थालाई व्यवसायीहरूले अव्यवहारिक भन्दै विरोध जनाएका थिए।
व्यवसायीहरूले ट्रक रोकिँदा ठूलो आर्थिक क्षति भएको बताएका छन्। उनीहरूका अनुसार ढुवानी खर्च, बैंक ब्याज, सामान बिग्रिने जोखिम र एलसी म्याद सकिने समस्याले व्यवसायीहरू प्रभावित भएका थिए।







