बुटवलमा भूमिहीन सुकुम्बासीको ठूलो विरोध प्रदर्शन
Prime TV News एक दिन अगाडि 
काठमाडौ । बुटवलमा हजारौ भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन्। उनीहरूले सरकारले तयारी र छलफल बिना बस्ती हटाउने अभियान चलाएको र डोजर प्रयोग गरेर घर भत्काउने काम भइरहेको आरोप लगाएका छन्।
प्रदर्शनकारीहरूले “डोजर आतंक बन्द गर”, “गाँस, बास र कपासको व्यवस्था गर”, “जबरजस्ती हटाउने काम रोक” जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए। उनीहरूले सुकुम्बासी हुनु आफ्नो बाध्यता भएको भन्दै गरिबलाई बाँच्ने आधार दिनुपर्ने माग गरेका छन्। साथै, अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्नुपर्ने पनि उनीहरूको माग छ।
प्रदर्शनमा देवदह, तिलोत्तमा, सैनामैना, सियारी र शुद्धोधन लगायतका स्थानबाट आएका बासिन्दाहरू सहभागी भएका थिए। राजमार्ग चौराहाबाट सुरु भएको र्याली मिलनचोक, अस्पताल लाइन हुँदै ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। स्थानीय तथ्यांक अनुसार रुपन्देहीमा करिब ८० हजार घरपरिवार भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको बताइएको छ।






