बजेट कम भएको कारण युवालाई रोजगारी दिन सकिरहेका छैनौः मन्त्री यादव
Prime TV News एक दिन अगाडि 
काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सरकारले जेनजि समूहका युवाहरूलाई अपेक्षित रोजगारी उपलब्ध गराउन नसकेको स्वीकार गरेका छन्। बिहीबार उद्योग तथा वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले मन्त्रालयमा दैनिक हजारौ युवाहरू रोजगारी खोज्न आउने गरेको बताए।
उनीहरूलाई आश्वासन दिने मात्र भएको र अहिले ठोस योजना र पर्याप्त बजेट नभएको उनले स्पष्ट पारे। मन्त्री यादवका अनुसार श्रम मन्त्रालयको मुख्य काम प्रत्यक्ष रोजगारी सिर्जना गर्नु होइन, तर युवालाई सीप विकास, तालिम र रोजगारदातासँग जोड्ने हो।
“मन्त्रालयको नाममा ‘रोजगारी’ शब्द भएकाले युवाहरूले तुरुन्त रोजगारी पाउने आश राख्छन्। तर अहिलेसम्म हामीले केवल आश्वासन दिन सकेका छौँ,” उनले भने। आगामी आर्थिक वर्षको बजेटमा घाइते युवालाई सीपमूलक तालिम दिने योजना भए पनि त्यसले रोजगारीको ग्यारेन्टी नदिने मन्त्री यादवले बताए।
उनले राष्ट्रिय रोजगार कार्यक्रमको बजेट कटौतीप्रति पनि असन्तुष्टि व्यक्त गरे। विगतमा १३ अर्ब रुपैयाँ रहेको यस कार्यक्रमको बजेट अब केवल १ अर्ब २० करोड मात्रै छुट्याइएको छ। यसले देशभर १७ हजार जनालाई मात्रै १०० दिनको रोजगारी दिन सकिने उनले बताए।
“गाउँपालिकालाई १० लाख बजेट दिए पनि केवल ६ जनालाई मात्र १०० दिनको काम दिन सकिन्छ। यस्तो अवस्थामा स्थानीय तहले कसलाई रोजगारी दिने?” उनले प्रश्न गरे। मन्त्री यादवले राष्ट्रिय रोजगार कार्यक्रमलाई ‘राष्ट्रिय सीप कार्यक्रम’ मा रूपान्तरण गर्नुपर्ने सुझाव दिएका छन्।
उनले मन्त्रालयले निजी क्षेत्रसँग समन्वय गरी सीपमूलक तालिममार्फत रोजगारीको अवसर खोज्ने प्रयास गरिरहेको भए पनि बजेटको अभाव नै मुख्य चुनौती रहेको दोहोर्याए।







