नेपाल वेस्ट इन्डिजसँग १० विकेटले पराजित, शृङ्खला क्लिन स्वीप गर्ने मौका गुमायो


काठमाडौ । तेस्रो तथा अन्तिम टि-२० अन्तर्राष्ट्रिय खेलमा नेपालले वेस्ट इन्डिजसँग १० विकेटको हार बेहोरेको छ। यससँगै नेपालले तीन खेलको शृङ्खला २–१ ले जिते पनि क्लिन स्वीप गर्ने ऐतिहासिक अवसर गुमाएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारण गरेको १२३ रनको लक्ष्य वेस्ट इन्डिजले सहज रूपमा पुरा गर्यो। घरेलु टोलीका ओपनर अमिर जांगु र अकिम अगस्त्यको आक्रामक ब्याटिङका अगाडि नेपालका बलरहरू पूर्ण रूपमा निरीह देखिए।
अमिर जांगुले ४५ बलमा ७४ रनको विस्फोटक इनिङ खेले भने अकिम अगस्त्यले २९ बलमा ४१ रन बनाए। दुवै ब्याट्सम्यान नटआउट रहे। वेस्ट इन्डिजले ४६ बल बाँकी छँदै लक्ष्य भेट्दै सानदार जित दर्ता गर्यो।
नेपालका लागि यो खेलमा कुनै पनि बलर प्रभावशाली प्रदर्शन गर्न सकेनन्। पहिलो दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टिम तेस्रो खेलमा भने बेजोड लय कायम राख्न असफल रह्यो।
यस हारका बाबजुद नेपालले वेस्ट इन्डिजजस्तो शक्तिशाली टिमविरुद्ध टि-२० शृङ्खला जितेको ऐतिहासिक उपलब्धि हासिल गरेको छ।