इरान–अमेरिका तनाव फेरि बढ्यो, दुवै पक्षबाट सैन्य कारबाहीको दाबी

User Image Prime TV News १४ घण्टा अगाडि
Image of इरान–अमेरिका तनाव फेरि बढ्यो, दुवै पक्षबाट सैन्य कारबाहीको दाबी

काठमाडौ । इरान र अमेरिका बीचको तनाव फेरि चर्किएको छ। इरानी सेनाले आफ्नो तेल ट्यांकरलाई अमेरिकी सेनाले निशाना बनाएपछि अमेरिकी नौसैनिक जहाजविरुद्ध जवाफी कारबाही गरेको दाबी गरेको हो।

इरानको खातम अल–अम्बिया केन्द्रीय मुख्यालयले अमेरिकाले युद्धविराम उल्लंघन गर्दै केही क्षेत्रीय देशहरूको सहयोगमा नागरिक क्षेत्र र क्युसम टापु आसपास हवाई आक्रमण गरेको आरोप लगाएको छ।

इरानले अमेरिकी सेनालाई 'आक्रामक' र 'आतंकवादी' भन्दै इरानी तेल ट्यांकरमाथि आक्रमण भएपछि जवाफी कदम चालिएको जनाएको छ। इरानी पक्षका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स को नौसेनाले ब्यालिस्टिक मिसाइल, एन्टी–शिप क्रुज मिसाइल र विस्फोटक ड्रोन प्रयोग गरेर अमेरिकी जहाजहरूलाई निशाना बनाएको छ।

इरानले अमेरिकी जहाजहरूमा ठूलो क्षति पुगेको दाबी पनि गरेको छ। तर अमेरिकी सेन्ट्रल कमान्डले इरानको आक्रमण विफल पारिएको जनाएको छ। अमेरिकाले आफ्ना जहाज वा सैन्य सम्पत्तिमा कुनै क्षति नभएको दाबी गरेको छ।

यो घटना अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाएको नाकाबन्दीपछि भएको पहिलो ठूलो सैन्य प्रतिक्रिया मानिएको छ। पछिल्ला हप्ताहरूमा अमेरिकी सेनाले धेरै इरानी जहाज नियन्त्रणमा लिएको र केहीलाई फर्काएको बताइएको छ। इरानी सञ्चारमाध्यमका अनुसार क्युसम टापु, बन्दर अब्बास र मिनाब आसपास ठूला विस्फोटका आवाज सुनिएका छन्।

यो सैन्य तनाव त्यतिबेला बढेको हो, जतिबेला दुवै देशबीच युद्ध अन्त्यका लागि वार्ता चलिरहेको बताइएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि होर्मुज क्षेत्रमा इरानको नाकाबन्दी तोड्न आदेश दिएपछि अवस्था झन् तनावपूर्ण बनेको छ।