तलेजु भवानीको मन्दिर वर्षमा एक दिनका लागि खुला, भक्तजनको भीड


काठमाडौ । काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा अवस्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर आज महानवमीको अवसरमा दर्शनार्थ खुला गरिएको छ।
वर्षमा एकपटक मात्र खोलिने यो मन्दिरमा दर्शन तथा पूजाका लागि बिहानैदेखि भक्तजनहरू लामबद्ध भएका छन्। नवरात्रको अन्तिम दिन, अर्थात् महानवमीमा तलेजु भवानीको विशेष पूजा आराधना गरिने परम्परा अनुसार, आज मन्दिर सर्वसाधारणका लागि खुला गरिएको हो।
तलेजु भवानीलाई दैवीशक्ति र मातृशक्तिको प्रतीक मानिन्छ भने नेवार समुदायले आफ्नी इष्टदेवीको रूपमा आराधना गर्दै आएका छन्। देवीलाई 'तुलजा' नामले पनि चिनिन्छ।
यस अवसरमा भक्तजनहरूले मूलचोकमा रहेका तलेजु भवानीको दर्शन गरी पूजाअर्चना गरे। तलेजु भवानीलाई फूलपातीको दिन मूलचोकमा ल्याइने परम्परा छ भने विजयादशमीको बिहान पुनः मूल मन्दिरमा फर्काइने गरिन्छ।
यसअघि महाअष्टमीको राति मूलचोकमै कालरात्रि पूजा सम्पन्न गरिएको थियो, जसअन्तर्गत ५४ बोका र ५४ राँगाको बलि दिइन्छ । तान्त्रिक विधिबाट गरिने यो पूजा राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने विश्वासमा गरिन्छ।
महानवमीकै दिन दशैंघर, कोत र देशभरका शक्तिपीठहरूमा समेत विशेष पूजा, बलिदान र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत तथा देवी स्तोत्र पाठ गरिएको छ।
२०७७ सालमा कोरोना महामारीका कारण मन्दिर नखोलिए पनि, २०७८ देखि स्वास्थ्य सावधानीका बीच मन्दिर पुनः दर्शनका लागि खुला गरिँदै आएको छ।