देशभर भूमिहीनको प्रदर्शन, बस्ती खाली गर्ने सरकारको निर्णयविरुद्ध विरोध
Prime TV News ८ घण्टा अगाडि 
काठमाडौ । विकल्प बिना बस्ती खाली गर्न थालेको भन्दै देशभर भूमिहीन तथा अव्यवस्थित बसोवासीहरू सडकमा उत्रिएका छन्। उनीहरूले सरकारको निर्णयको विरोध गर्दै प्रदर्शन गरेका हुन्।
सरकारले बस्ती खाली गर्ने अभियान देशभर विस्तार गर्ने तयारी गरेपछि काठमाडौसहित विभिन्न स्थानमा विस्थापित भएका र जोखिममा परेका बस्तीका बासिन्दाहरू आन्दोलनमा उत्रिएका छन्। काठमाडौंका १६ बस्तीबाट हजारौं परिवार विस्थापित भइसकेको दाबी गरिएको छ।
बुटवलमा बिहीबार ठूलो प्रदर्शन भएको छ। राजमार्ग चौराहाबाट सुरु भएको जुलुस ट्राफिकचोकमा पुगेर सभामा परिणत भएको थियो। प्रदर्शनकारीहरूले “डोजर आतंक बन्द गर”, “नागरिकलाई विस्थापित होइन स्थापित गर” जस्ता नारा लगाएका थिए।
उनीहरूले वास्तविक भूमिहीनको पहिचान गरी पुरानो भूमि आयोगको प्रक्रिया अनुसार लालपुर्जा दिनुपर्ने माग गरेका छन्। साथै, सरकारले विकल्प बिना बस्ती हटाउँदा नागरिकको अधिकार हनन भएको आरोप लगाएका छन्। त्यस्तै, झापा, दाङ, मोरङ, पोखरा, मकवानपुर, बर्दिया लगायतका जिल्लामा पनि पछिल्ला दिनमा भूमिहीन र अव्यवस्थित बसोवासीहरूले निरन्तर प्रदर्शन गरिरहेका छन्।
सरकारले भने बस्ती व्यवस्थापन र अवैध संरचना हटाउने अभियानलाई अगाडि बढाइरहेको छ। तर भूमिहीनहरूले पहिले व्यवस्थापन र पुनर्वासको व्यवस्था हुनुपर्ने माग राख्दै आन्दोलन चर्काएका छन्।







