राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ निक्षेप तान्दै
Prime TV News ७ घण्टा अगाडि 
काठमाडौ । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरूबाट ४० अर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ। राष्ट्र बैंकले दिउँसो ३ बजे बोलकबोलमार्फत ९६ दिनका लागि उक्त रकम तान्न लागेको हो। यस प्रक्रियामा वाणिज्य, विकास र वित्त कम्पनीहरू सहभागी हुन सक्नेछन्।
बैंकहरूले ब्याजदर प्रस्ताव गरेर बोलकबोल गर्नुपर्नेछ। सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकता दिइने राष्ट्र बैंकले जनाएको छ। अहिले बैंकहरूमा अधिक तरलता रहेको कारण त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले नियमित रूपमा यस्तो प्रक्रिया अपनाउँदै आएको छ।
राष्ट्र बैंकमा राखिएको निक्षेप अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा पनि प्रयोग गर्न सकिने व्यवस्था छ। यस निक्षेपको सावाँ र ब्याज आगामी ९६ दिनपछि, अर्थात् साउन २७ गते भुक्तानी गरिनेछ।







