कांग्रेसले आज सुदूरपश्चिम प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला गर्दै
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले आज सुदूरपश्चिम प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला आयोजना गर्दैछ। पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित भेलाका लागि सभापति गगनकुमार थापा केहीबेरमा धनगढी पुग्ने कार्यक्रम छ।
भेलामा सहभागी हुन उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरे भने धनगढी पुगिसकेका छन्। विशेष महाधिवेशनपछि कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिमबाट वर्तमान सभापति गगन थापाको नेतृत्वमा पार्टीको शक्ति प्रदर्शन र संगठन सुदृढीकरण अभियान सुरु गर्न लागेको हो।
भेलामा स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सांसद, मन्त्री तथा पार्टीका नेता–कार्यकर्तासँग सामूहिक छलफल गरिनेछ। हिजो आयोजित पत्रकार सम्मेलनमा सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले भेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका थिए। उनका अनुसार भेलामा प्रतिनिधि सभा निर्वाचनको समीक्षा, स्थानीय तहका जनप्रतिनिधिको कार्यसम्पादन तथा आगामी रणनीतिबारे गम्भीर छलफल हुनेछ। भेलामा पार्टीका प्रदेश पदाधिकारी, कार्यसम्पादन समितिका सदस्य, प्रदेश सरकारका प्रतिनिधि, प्रदेश सांसद, जिल्ला सभापति, स्थानीय तह प्रमुख–उपप्रमुख तथा विभिन्न तहका पार्टी सभापतिहरू सहभागी हुनेछन्। प्रत्येक सहभागीका लागि २ हजार ५ सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ। कार्यक्रम व्यवस्थापन नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले गर्नेछ भने स्थानीय संयोजन कैलाली जिल्ला कार्यसमितिले गर्ने जनाएको छ। भेलाको उद्घाटन सभापति गगन थापाले गर्नेछन्। कार्यक्रममा सुदूरपश्चिमका सबै प्रतिनिधि सभा निर्वाचन क्षेत्रका उम्मेदवारहरूको रिपोर्टिङ सुन्ने कार्यसूची राखिएको छ। त्यसपछि केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन्। यस्तै, २७ गते स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सभा सदस्य तथा सरकारका प्रतिनिधिलाई प्रशिक्षण दिइनेछ। उक्त प्रशिक्षण उपसभापति विश्वप्रकाश शर्माले दिने कार्यक्रम छ ।







