रुस–युक्रेन युद्धमा तीनदिने युद्धविराम
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्धमा तीनदिने युद्धविराम हुने घोषणा गरेका छन्। उनले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ९ मेदेखि ११ मेसम्म युद्धविराम लागू हुने बताएका हुन्।
भ्लोदिमिर जेलेन्स्कीले पनि अमेरिकी पहलमा युद्ध अन्त्यका लागि अस्थायी युद्धविराममा सहमति भएको पुष्टि गरेका छन्। रुसी राष्ट्रपति कार्यालयका सहयोगी युरी उशाकोभका अनुसार अमेरिका, रुस र युक्रेनबीच टेलिफोन संवादमार्फत सहमति जुटाइएको हो।
उनले भ्लादिमिर पुटिन र ट्रम्पबीच हालै भएको वार्तामा पनि युद्धविरामबारे विस्तृत छलफल भएको बताएका छन्। सहमति अनुसार युद्धविराम अवधिभर सबै सैन्य गतिविधि रोक्ने तथा दुवै देशले एक–एक हजार युद्धबन्दी आदानप्रदान गर्ने तयारी गरेका छन्।
लामो समयदेखि जारी युद्धका कारण हजारौं मानिस मारिएका छन् भने लाखौं विस्थापित भएका छन्। यस्तो अवस्थामा तीनदिने युद्धविरामलाई ठूलो कूटनीतिक कदमका रूपमा हेरिएको छ।
ट्रम्पले यो कदम युद्ध अन्त्यतर्फको सुरुआत हुन सक्ने बताएका छन्। उनले सन् २०२४ को चुनावी अभियानमै युक्रेन युद्ध रोक्ने वाचा गरेका थिए। तर, स्थायी शान्ति सम्झौता अझै टाढै देखिन्छ र दुवै पक्षबीच अविश्वास कायम छ।







