नेपाली कांग्रेसद्वारा सरकारलाई चेतावनी प्रतिशोधको राजनीति नगर्न आग्रह
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिप्रति गम्भीर आपत्ति जनाउँदै सरकारलाई प्रतिशोधको राजनीतिबाट टाढा रहन आग्रह गरेको छ। विज्ञप्तिमा कांग्रेसले पछिल्ला घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै आन्दोलनमाथि निष्पक्ष छानबिन नगरी विपक्षी दलहरूमाथि पूर्वाग्रही व्यवहार गरिएको आरोप लगाएको हो।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ-
“भदौ २३ र २४ गतेको आन्दोलनबारे छानबिन प्रक्रिया सुरु नहुँदै राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि पूर्वाग्रही र प्रतिशोधपूर्ण व्यवहार गरिएको छ। आयोगको हवाला दिँदै राहदानी रोक्का गर्ने, देशभित्र हिँडडुलमा समेत रोक लगाउने कार्य गैरकानुनी र असंवैधानिक छन्।”
कांग्रेसले सरकारद्वारा गठित छानबिन आयोगलाई अधिकार क्षेत्रबाहिर गएर काम गराइएको भन्दै आपत्ति जनाएको छ। पार्टीका अनुसार आयोगको नाउँमा व्यक्तिगत स्वतन्त्रता, मानव अधिकार र संवैधानिक मर्यादामाथि प्रत्यक्ष हस्तक्षेप भइरहेको छ।
“सरकार प्रतिशोधका नाममा गैरसंवैधानिक अभ्यास गर्दैछ,” विज्ञप्तिमा उल्लेख छ, “शासन प्रणालीलाई विधिको शासनअनुरूप सञ्चालन गर्न सरकारले जिम्मेवार व्यवहार देखाउनु आवश्यक छ।”
कांग्रेसले आन्दोलनमा संलग्नहरूलाई दोषी करार गर्दै गरिएको कारबाहीको शैलीलाई प्रश्न उठाउँदै निष्पक्ष छानबिनपछि मात्र कानुनी प्रक्रिया अघि बढाउनुपर्ने माग गरेको छ।







