उद्योगी व्यवसायीलाई धरपकड गर्दैछ भन्ने हल्लाको पछि नलाग्न अर्थमन्त्री वाग्लेको आग्रह
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई धरपकड गर्दैछ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उद्योगी व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको हल्लामा कुनै सत्यता नभएको प्रस्ट पारे।
उनले भने, ‘निजी क्षेत्रका व्यवसायीलाई थुन्ने धरपकड गर्ने कुनै सूची सरकारले बनाएको छैन र होइन। तपाईँहरू हल्लाको पछि नपर्नुस् तपाईँहरू हाम्रो साझेदार हो।’
उनले सरकारको १०० बिलियन डलरको अर्थतन्त्र बनाउने योजनाको निजी क्षेत्र साझेदार रहेको पनि बताए। कार्यक्रममा बोल्दै उनले सरकारका पाँच प्राथमिकताहरू बारे पनि प्रस्ट्याए।
सरकारको पहिलो प्राथमिकता सुशासन, दोस्रो अर्थतन्त्रको पुनरुत्थान, तेस्रो मुलुकमा आन्तरिक र बाह्य कनेक्टीभिटी, चौथो सामाजिक लगानी र पाँचौँ पर्यटन, संसकृति र इतिहासमार्फत सौम्य शक्ति विस्तार रहेको बताए।
अर्थतन्त्रको जहाज मोड्ने अवस्थामा मुलुक रहेको भन्दै उनले त्यसका लागि आगामी बजेटसम्म पर्खिन पनि उद्योगी व्यवसायीलाई आग्रह गरे।
राजनीतिक स्थायित्व र इमानदारीपूर्वक देश अघि बढाउँदा छिमेकी मुलुक भारतले गरेको प्रगतिको उदाहरण दिँदै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्ने समय र अहिले नेपालको अर्थतन्त्रको केही सूचकहरू समान रहेको बताए।
उनले थपे, ‘सन् २०१४/१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्दा भारतको अर्थतन्त्रको केही सूचक नेपालकै अहिलेकै हाराहारी थियो। तर पछिल्लो १२ वर्षमा त्यो फड्को मारेर कहाँबाट कहाँ पुग्यो । हामी पनि सोही बाटो लाग्ने बेला भएको छ।’







