ज्येष्ठ नागरिकको ज्ञान, अनुभव र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नु पर्छ: राष्ट्रपति पौडेल
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । रामचन्द्र पौडेलले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताएका छन्। मनमोहन स्मृति प्रतिष्ठानले आज काठमाडौंमा आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकका अनुभवलाई पाठ्यक्रम, अन्तरक्रिया तथा सामाजिक अभ्यासमार्फत नयाँ पुस्तासम्म पुर्याउनुपर्ने बताए। साथै शारीरिक रूपमा सक्षम र इच्छुक ज्येष्ठ नागरिकलाई उत्पादनमूलक काममा सहभागी गराई राष्ट्रिय नीति निर्माण तथा सामुदायिक गतिविधिमा अनिवार्य प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिए।
उनले नेपाल पनि विस्तारै बुढ्यौली समाजतर्फ उन्मुख भइरहेको उल्लेख गर्दै दीर्घकालीन सोचसहित परिपक्व नीति र व्यावहारिक कार्ययोजना आवश्यक रहेको बताए। युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन भइरहेका बेला ज्येष्ठ नागरिकको प्रभावकारी व्यवस्थापन ठूलो चुनौती बनेको उनको भनाइ थियो।
राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकले स्वस्थकर खाना, उचित स्वास्थ्य सेवा र सम्मानपूर्ण जीवन पाउने अधिकार सुनिश्चित हुनुपर्ने बताए। परिवार र समाजबाट उपेक्षा हुँदा धेरै ज्येष्ठ नागरिक पीडित बन्नुपरेको उल्लेख गर्दै उनले यस्तो अवस्था दुःखद र गम्भीर भएको बताए।
उनले शहरीकरण, वैदेशिक रोजगारी र पारिवारिक असहिष्णुताका कारण वृद्धवृद्धाको अवस्था कमजोर बन्दै गएको उल्लेख गरे। “जीवनको उत्तरार्धमा ज्येष्ठ नागरिकका आँखामा आँसु आउने अवस्था सभ्य समाजका लागि राम्रो संकेत होइन,” भन्ने सन्देश उनले दिएका छन्।
कार्यक्रममा उनले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी को योगदानको पनि स्मरण गरे। राष्ट्रपति पौडेलले मनमोहन अधिकारीलाई सरल, सादगी र उदारवादी वामपन्थी नेताका रूपमा चित्रण गर्दै बहुदलीय प्रजातन्त्र स्थापनामा उनको भूमिका महत्वपूर्ण रहेको बताए।
उनले विसं २०५१ मा मनमोहन अधिकारी नेतृत्वको सरकारले नेपालमा पहिलोपटक मासिक वृद्धभत्ता सुरु गरेको स्मरण गर्दै ज्येष्ठ नागरिक राष्ट्रका अनुभवी र सम्मानित वर्ग भएको उल्लेख गरे।







