अध्यादेश मार्फत संवैधानिक संस्था कब्जा गर्न खोजियो : पुष्पा भुसाल

User Image Prime TV News ४ घण्टा अगाडि
Image of अध्यादेश मार्फत संवैधानिक संस्था कब्जा गर्न खोजियो : पुष्पा भुसाल

काठमाडौ । नेपाली कांग्रेसकी उपभापति पुष्पा भुसालले सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरेर निजी स्वार्थका लागि संवैधानिक संस्थामाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाएकी छन्।

राष्ट्रिय जनमोर्चाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संसद्को अधिवेशन घोषणा भइसकेपछि पनि अध्यादेश ल्याइनुले सरकारको नियतमाथि गम्भीर प्रश्न उठेको बताइन्।

उपसभापति भुसालले सरकारले आफ्नो स्वार्थ पूरा गर्न संवैधानिक संरचनालाई कमजोर बनाउने काम गरिरहेको टिप्पणी गरिन्। विशेषगरी प्रधानन्यायाधीश सिफारिस प्रक्रियालाई लिएर उनले न्यायपालिकामाथि कार्यपालिकाको नियन्त्रण बढाउन खोजिएको संकेत देखिएको धारणा राखिन्।

उनका अनुसार संवैधानिक परिषद्मार्फत व्यापक छलफल गरेर नियुक्ति प्रक्रिया अघि बढाउनुपर्नेमा अध्यादेशमार्फत परिषद्को भूमिकामाथि हस्तक्षेप गरिएको छ। उनले यस्तो प्रवृत्तिले संविधानको मूल मर्म नै कमजोर बनाउने चेतावनी दिइन्।

भुसालले भविष्यमा पनि सरकारले आफ्नो अनुकूल राज्य सञ्चालन गर्न अध्यादेशको दुरुपयोग गर्न सक्ने आशंका व्यक्त गरिन्। संविधान संशोधनको बहस अघि बढाउनुभन्दा पहिले सरकारले संविधानप्रति प्रतिबद्धता देखाउनुपर्ने उनको भनाइ थियो।

उक्त कार्यक्रममा प्रदीप ज्ञवाली ले पनि वर्तमान सरकारको कार्यशैली अधिनायकवादतर्फ उन्मुख देखिएको भन्दै आलोचना गरे। उनले अहिलेको व्यवस्थालाई थप व्यवस्थित र सुधार गर्न संविधान संशोधन आवश्यक हुन सक्ने बताए।

ज्ञवालीले नेकपा एमाले संविधान संशोधनको विपक्षमा नरहेको स्पष्ट पार्दै सत्तारुढ दलले यसबारे आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरे। उनले दुई तिहाइको बलमा संविधानका आधारभूत संरचना कमजोर बनाउन खोजिए त्यो देशका लागि गम्भीर र खतरनाक कदम हुने चेतावनीसमेत दिए।

प्रतिपक्षी नेताहरूले सरकारका एकलौटी निर्णयले लोकतान्त्रिक संस्था र संवैधानिक व्यवस्थामाथि दबाब बढिरहेको भन्दै सतर्क रहन आग्रह गरेका छन्।