नेकपाले असारदेखि सदस्यता विस्तार, मंसिरमा राष्ट्रिय महाधिवेशन गर्ने

User Image Prime TV News ३ घण्टा अगाडि
Image of नेकपाले असारदेखि सदस्यता विस्तार, मंसिरमा राष्ट्रिय महाधिवेशन गर्ने

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीले आगामी मंसिर ११ गतेभित्र एकता राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने गरी संगठनात्मक तयारी अघि बढाएको छ।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेको अन्तरपार्टी निर्देशन (अपानी) मार्फत महाधिवेशनको विस्तृत कार्यतालिका सार्वजनिक गरिएको हो।

निर्देशनअनुसार जेठ मसान्तभित्र देशभरका सबै वडा तह सम्मको समायोजन प्रक्रिया टुंग्याइनेछ। त्यसपछि असार १ गतेदेखि साउन १५ गतेसम्म श्रम अभियानसँगै पार्टी सदस्यता नवीकरण तथा विस्तार अभियान सञ्चालन गरिनेछ।

नेकपाले भदौ १ गतेदेखि १५ गतेसम्म वडा अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएको छ। त्यस्तै, भदौ १६ गतेदेखि मसान्तसम्म पालिका अधिवेशन तथा असोज मसान्तसम्म जिल्ला अधिवेशन सक्ने योजना पार्टीले अघि सारेको छ।

पार्टीका अनुसार कात्तिक १५ गतेभित्र प्रदेश अधिवेशन सम्पन्न गरिनेछ भने मंसिर ११ गतेसम्म एकता राष्ट्रिय महाधिवेशन आयोजना गरिनेछ। नेकपाले संगठन पुनर्गठन, सदस्यता विस्तार र पार्टीलाई तल्लो तहसम्म सक्रिय बनाउने उद्देश्यसहित अभियान अघि बढाएको जनाएको छ।

लामो समयको आन्तरिक विवाद र विभाजनपछि पार्टी फेरि एकताबद्ध हुने प्रयासमा जुटेका बेला सार्वजनिक गरिएको यो कार्यतालिकालाई महत्त्वपूर्ण राजनीतिक कदमका रूपमा हेरिएको छ।