सिमलटार पुगे हर्क साम्पाङ, सुकुमबासीको पक्षमा उभिने घोषणा
Prime TV News एक घण्टा अगाडि 
हेटौडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ शनिबार हेटौँडा–११ को सिमलटार र थानाभर्याङ बस्ती पुगेका छन्। सुकुमबासी तथा अव्यवस्थित बसोबासीसँग भेटघाट गर्दै उनले घर भत्काएर नागरिकलाई विस्थापित गर्ने सरकारी कदमको विरोध गरेका हुन्।
स्थानीयसँगको कार्यक्रममा बोल्दै साम्पाङले संविधानले प्रत्येक नागरिकलाई बाँच्न र आवासको अधिकार दिएको उल्लेख गर्दै बल प्रयोग गरेर बस्ती हटाउने कार्य स्वीकार्य नहुने बताए। उनले राज्यले नागरिकलाई त्रसित बनाउने शैली अपनाएको आरोप पनि लगाए।
साम्पाङले सुकुमबासीको समस्या संसद् र सडक दुवै ठाउँबाट उठाइरहेको दाबी गरे। प्रतिनिधिसभामा निर्वाचित भएपछि पहिलो अधिवेशनमै आफूले सुकुमबासीको मुद्दा उठाएको उनले बताए।
'घर बनाएर बस्ने अधिकार नागरिकको मौलिक हक हो,' उनले भने, 'राज्यले एकाएक आएर आतंक फैलाउने शैलीमा घर भत्काउनु हुँदैन। म सधैं सुकुमबासी जनताको पक्षमा उभिन्छु।'
पछिल्लो समय जिल्ला प्रशासन कार्यालय मकवानपुरले सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण र अतिक्रमण हटाउने अभियान थालेपछि सिमलटार क्षेत्रका बासिन्दा त्रासमा छन्। घर हटाइने डरले स्थानीयहरू चिन्तित बनेका छन्।
भेटघाटका क्रममा स्थानीयले बस्तीमाथि बढ्दो दबाब, जग्गाको असुरक्षा र आधारभूत सेवाको अभावबारे साम्पाङलाई जानकारी गराएका थिए। साम्पाङले स्थानीयका गुनासा सुनेपछि समस्या समाधानका लागि आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।







