प्रधानन्यायाधीश सिफारिस योग्यताका आधारमा गरिएको हो : उपसभामुख ठाकुर
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौ । रुवी कुमारी ठाकुरले प्रधानन्यायाधीश नियुक्ति सिफारिस क्षमता र योग्यताका आधारमा गरिएको बताएकी छन्।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले न्याय प्रणालीप्रति जनतामा लामो समयदेखि असन्तुष्टि रहेको उल्लेख गरेकी हुन्। 'मुद्दा धेरै वर्षसम्म किन लम्बिन्छ ?' भन्ने प्रश्न जनताले बारम्बार उठाउने गरेको उनले बताइन्।
ठाकुरले न्याय प्रणाली प्रभावकारी नभए जनतामा निराशा बढ्ने बताइन्। उनले दल वा पार्टीको प्रभावमा गरिने नियुक्तिले राम्रो परिणाम नदिने टिप्पणी पनि गरिन्।
उनका अनुसार प्रधानन्यायाधीश सिफारिस कार्यक्षमता मूल्यांकनका आधारमा गरिएको हो र यसलाई अनावश्यक विवादको विषय बनाउन नहुने बताइन्। उपसभामुख ठाकुरले राज्यका सबै निकायले संविधान, कानुन र जनहितलाई प्राथमिकता दिएर काम गर्नुपर्ने धारणा राखिन्।
उनले निष्पक्ष र सक्षम न्याय प्रणाली लोकतन्त्रको मुख्य आधार भएको उल्लेख गर्दै न्याय सुधारका पक्षमा साथ दिने सबैलाई धन्यवादसमेत दिएकी छन्।







