निराश मानसिकता त्यागेर संगठन निर्माणमा लाग्न सभापति थापाको आग्रह
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय हित र राष्ट्रियतासँग जोडिएका विषयमा सरकारलाई नेपाली कांग्रेसको सहयोग रहने बताएका छन्।
शनिबार धनगढीमा आयोजित नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यक्रममा बोल्दै उनले देश र जनताको हितका विषयमा कांग्रेस सधैं जिम्मेवार ढंगले प्रस्तुत हुने बताए।
थापाले राष्ट्रियताका मुद्दामा कांग्रेसले कहिल्यै पार्टी हेरेर राजनीति नगरेको उल्लेख गरे। तर लोकतन्त्र र संविधानविपरीत हुने काम भने स्वीकार गर्न नसकिने उनको भनाइ थियो।
उनले लोकतन्त्रमा कानुनी मात्र होइन, नैतिक पक्ष पनि महत्वपूर्ण हुने बताए। विगतको एउटा उदाहरण दिँदै उनले कांग्रेससँग महाअभियोग प्रस्ताव ल्याउने संख्या हुँदाहुँदै पनि गलत अभ्यासको पक्षमा नउभिएको दाबी गरे।
थापाले पार्टीका नेता कार्यकर्तालाई निराश मानसिकता त्यागेर संगठन निर्माणमा लाग्न आग्रह गरे। गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्नेहरूलाई केही समय जिम्मेवारी नदिइने पनि उनले बताए।
कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसले अब नयाँ सोचका साथ अघि बढ्नुपर्ने बताए। उनले पार्टीलाई समाजसँग जोडेर साझा संगठन बनाउने समय आएको उल्लेख गरे।







