पश्चिमी वायुको प्रभाव : देशका विभिन्न ठाउँमा वर्षा र हिमपातको सम्भावना

User Image Prime TV News ४ दिन अगाडि
Image of पश्चिमी वायुको प्रभाव : देशका विभिन्न ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाडौ । देशभर अहिले पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव देखिएको छ। साथै नेपालको पूर्वी क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रका कारण पनि मौसम बदली भएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती, गण्डकी र कर्णाली प्रदेशका धेरै स्थानमा बादल लागेको छ। हिमाली र पहाडी क्षेत्रमा मौसम बढी बदली भएको छ भने तराईका धेरै ठाउँमा आंशिक बदली रहेको छ।

महाशाखाले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्का वर्षा हुन सक्ने जनाएको छ। अन्य प्रदेशका एक–दुई ठाउँमा पनि हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति पनि मौसम पूर्ण रूपमा खुल्ने सम्भावना छैन। विशेषगरी कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन्।

मौसममा आएको परिवर्तनका कारण सडक यात्रा र दैनिक कामकाजमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।