पुटिनले दिए युक्रेन युद्ध अन्त्य हुने संकेत
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अब अन्त्यतिर पुगेको संकेत गरेका छन्।
रुसको ‘विजय दिवस’ परेडपछि पत्रकारहरूसँग कुरा गर्दै पुटिनले युद्ध धेरै लामो समय नचल्ने संकेत गरेका हुन्। उनले पश्चिमी देशहरूले युक्रेनलाई लगातार सहयोग दिँदा द्वन्द्व थप चर्किएको आरोप लगाए।
पुटिनले अहिलेको अवस्था गम्भीर भए पनि युद्ध अन्त्यतिर गएको महसुस भइरहेको बताएका छन्। हाल रुस र युक्रेनबीच तीन दिनका लागि युद्धविराम लागू गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलपछि यो युद्धविराम भएको बताइएको छ।
रुस र युक्रेनबीच युद्धबन्दी साटासाट गर्ने सहमति पनि भएको छ। तर पुटिनले युक्रेनबाट अझै स्पष्ट प्रतिक्रिया नआएको बताएका छन्।
उनले युक्रेनी राष्ट्रपती भोलोदिमिर जेलेन्स्की सँग प्रत्यक्ष वार्ताका लागि आफू तयार रहेको बताए। तर स्थायी शान्ति सम्झौतापछि मात्र त्यस्तो वार्ता सम्भव हुने उनको भनाइ छ।
पुटिनले युरोपेली देशहरूले द्वन्द्व बढाउने काम गरिरहेको आरोप पनि लगाए। साथै उनले इरानसँग सम्बन्धित तनाव चाँडै समाधान नभए सबै पक्षलाई नोक्सानी हुने चेतावनी दिएका छन्।






